आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन: अर्थमन्त्री

prakash-sharan-mahat-arthamantri

तातोखबर, काठमाडौं / अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको बताएका छन्। शुक्रबार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालले उदारताकासाथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको उनले बताए।

Advertisement:prakash-sharan-mahat-arthamantri

उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरु सुनिश्चित गर्दा समस्या आएको बताए। उनले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताए। द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको बताए।

नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतले बताए।

संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भए पनि आन्तरिक स्रोत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्वहरू धान्न कठिन हुँदै गएको बताए।

उनले भने, ‘सामाजिक सुरक्षामा हामी दक्षिण एसियामै अन्य देशभन्दा माथि छौँ। भारत, बंगलादेशभन्दा माथि छौँ। हामीले उदारताका साथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गरिसकेका छौँ। ज्येष्ठ नागरिक भत्तादेखि लिएर अनेकन हामीले अनुदानका विषयहरु सुनिश्चित गरेका छौँ। त्यसैले हाम्रो फिक्स दायित्व अत्यन्त ठूलो भयो । सुरक्षा निकायको साइज पनि द्वन्द्वपछि डबल नै भयो। यसले गर्दा हाम्रो फिक्स दायित्व अत्यन्त धेरै बढ्यो। त्यसले गर्दा हाम्रो आन्तरिक स्रोत र साधन जुन हाम्रो राजश्वबाट जे प्राप्ति हुन्छ, त्यसले यी सबै दायित्वहरुलाई सम्बोधन गर्न कठिन हुँदै गएको छ।’

अर्थमन्त्री महतले साधनस्रोतहरू प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :