वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल विजयी

nepal-women-football-teem-waff

तातोखबर, खेलकुद / वेस्ट एशियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप फुटबलमा नेपालको विजयी शुरुवात भएको छ। नेपाल र सिरियाबीच आज (मंगलवार) भएको प्रतिस्पर्धामा नेपालले सिरियालाई ४-१ गोलले पराजित गर्दै  नेपाल विजयी भएको हो।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्ला स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा नै ३-१ को अग्रता कयम गरेको थियो।

Advertisement:nepal-women-football-teem-waff

खेलको शुरुवातबाटै सिरियालाई दबाबमा राखेको थियो । खेलको ९औँ मिनेटमा नै अमिशा कार्कीले गोल गर्दै अग्रता दिलाएकी थिईन।

खेलको १२औँ मिनेटमा नेपालले पाएको कर्नरमा अनिता बस्नेतले प्रहार गरेको कर्ली किक गोलमा परिणत भयो। अनिताको कर्नर प्रहार दर्शनीय गोलमा परिणत हुँदा सिरियाली गोलकिपरले हेरेको हेरै भइन्।

यसपछि १९औँ मिनेटमा ‘साम्बा’ सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन्।

पहिलो हाफमा नै गोल गर्न प्रयासरत सिरियाले एक गोल फर्काउन सफल भयो। सिरियाली खेलाडी मुस्तफाले ४३औँ मिनेटमा गोल प्रहार गर्न सफल भए ।

खेलको ६९औँ मिनेटमा सावित्रा भण्डारीले दिएको पासमा रेखा पौड‍ेलले नेपालका लागि चौथो गोल गरिन्।

खेलमा नेपालले सिरियाली पोस्टमा निकै आक्रमण गरे पनि गोल गर्ने प्रयास विफल भएका थिए।

खेलको अन्तिम समयमा प्रशिक्षक राजेन्द्र तामाङले गोलकिपर एञ्जिला तुम्बापोको साटो उषा नाथलाई उतारेका थिए।

पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा नेपालले पहिलो पटक आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो। नेपालले पहिलो पटक सिरियासँग खेलिरहेको हो।

पहिलो पटक महिला टोलीको जिम्मेवारी सम्हालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विदेशी लिग खेलेका खेलाडीहरु हुँदा नेपाललाई फाइदा पुग्ने विश्वास गरेका छन्।

गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएको टोलीले अग्रपंक्तिको जिम्मेवारी सावित्रा भण्डारीलाई दिएको छ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्।

अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्।

प्रतिक्रिया दिनुहोस् :