गठबन्धन पाँच वर्षसम्म टिक्ने : मन्त्री साउद

तातोखबर, भैरहवा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं परराष्ट्रमन्त्री एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रूपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले  यस्तो बताएका हुन् । उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता भएको औँल्याए।

Advertisement:

‘जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ’, साउदले भने‚ ‘प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ।’

फरक प्रसंगमा मन्त्री साउदले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले भारतबाट हुनसक्ने सहयोगका लागि विभिन्न भ्रमणका वेला गम्भीर रूपमा कुरा राखेको बताए। उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्न यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए।

मन्त्री साउदले सिमराको रुट अत्यन्त व्यस्त भएकाले भारतसँग थप रुटको विषयमा कुरा भइरहेको बताए। साना विमानका लागि रुट पाइए पनि बोइङलगायत रुटका लागि सरकार लागिपरेको उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस् :