सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

तातोखबर, काठमाडौँ / लामो समय देखि आन्दोलनरत केन्द्रीय दुग्ध सहकारी संघ र सरकारबीच पाँच बुँदे सहमति भएको छ।

आज सिंहदरबारमा भएको वार्तापछि उक्त सहमति भएको र संघले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुषालको उपस्थितिमा वार्ता र सहमति भएको हो ।

Advertisement:

सहमतिपत्रमा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत २१ सम्म गरिसक्ने उल्लेख छ।

यस्तै उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थको निर्यातका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले समन्वय गर्ने पनि सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए।

उनले दूध तथा दुग्धजन्य पदार्थको निर्यात प्रवद्र्धनका लागि आउँदो नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका मागहरु सम्बोधनका लागि पहल गर्ने सहमति भएको बताए।

वार्तामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता थियो।

संघले विभिन्न माग राखेर यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो।

sahamati-patra-dud-kishan-tatokhabar-tato-khabar-tattatokhabar-online-khabar-ratopati-setopati

प्रतिक्रिया दिनुहोस् :