फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

तातोखबर, क्रिकेट / त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनलमा पुगेको थियो।

Advertisement:

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसरलाई गुमाएको छ।

कात्तिकमा टी-ट्वेन्टी विश्वकप एसिया छनोटको उपाधि र यूएईसँगको सिरिज गुमाएको नेपाल त्रिवि मैदानमा अर्को उपाधिको खोजीमा हुनेछ । डेभ ह्वाटमोर प्रशिक्षक बनेपछि घरेलु मैदानमै भएको सिरिजमा नेदरल्याण्ड्सलाई नै हराएर नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि नेपालले पुनः नेदरल्याण्ड्सलाई हराएर अर्को सिरिज जित्ने लक्ष्यमा रहेको छ ।

टी-ट्वेन्टी आईमा पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ भने नेदरल्यान्ड्सले दुई खेलमा जित दर्ता गरेको छ। नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग टूमा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराएको छ।

प्रतिक्रिया दिनुहोस् :