प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी हुँदै

हेटौंडा– हेटौंडामा चैत २ गते शुक्रबारबाट आठौं प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले बागमती प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो ।

‘पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता’ भन्ने नाराका साथ चैत ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा प्रदर्शनी संचालन  गर्न लागिएको बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको थियो ।

Advertisement:

महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीले प्रदर्शनीले महिलाहरुको उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखेको बताइन् । प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु रहने उनले जानकारी दिइन् ।

प्रदर्शनीमा ३७ वटा स्टलहरु रहने र मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरीदेखिका उद्यमीहरुबाट स्टल बुक भएको छ । प्रदर्शनी अवधीभर महिला उद्यमीहरुको वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :