सहकारी सञ्चालकलाई जेल पठाएर रकम फिर्ता नहुने: कानूनमन्त्री गिरी

Padam-Giri-kanun-mantri

तातोखबर, काठमाडौँ /  कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको जिकिर गरेका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताएका हुन् । उनले सहकारीमा समस्या आए पनि समाधानको लागि सरकारले लिएको कार्यशैली गलत भएको बताए ।

Advertisement:Padam-Giri-kanun-mantri

आम जनताको बचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बता । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको उनले बताए ।

मन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको बताए । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिनेकुरा राम्रो पक्ष नभएको उनले बताए ।

‘सहकारीबाट ऋण लाने मान्छे सरर प्राडो कार चढेर हिँड्छ । जसले ऋण दियो, ऊ जेलमा छ । विधि पद्धति, सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्छ । कुनै द्विविधा छैन । तर जुनसुकै हिसावमा ऋण लिएको होस् । आम जनताबाट संकलन गरेको रकमबाट ऋण पाएको हो । त्यो ऋण तिर्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा बढ्दै गएको कुशासन र अपारदर्शिता हटाउनको लागि प्रविधिमैत्री बनाउन आवश्यक रहेको जिकिर गरिन । उनले सहकारीका सदस्यहरुलाई छिटो छरितो र पारदर्शी रुपमा सेवा दिनको लागि सहकारीलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस् :