माओवादीले गण्डकी प्रदेशमा नेतृत्व लिने सम्भावना: प्रचण्ड
तातोखबर, पोखरा/ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबिच सहकार्यका निम्ति नयाँ गठबन्धन बनाइएको जिकिर गरेका छन् ।
आज बिहान पोखरामा आयोजित पार्टी अगुवा नेता–कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘कांग्रेसबाट पटक पटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।’
प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने पनि बताए । उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै छौँ। पूर्वदेखि पश्चिमसम्मको तराई-मधेसलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेसलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।’
माओवादीले गण्डकी प्रदेशमा नेतृत्व लिने सम्भावना रहेको उनले बताए। प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दै छौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।’
केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले जिकिर गरे।
उनले भने, ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशको राजनीति सही बाटोमा आएको छ।’