वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

bishesh-adalat-case

तातोखबर, काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय तत्कालीन डिभिजनल वन अधिकृत महोत्तरीका हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता दायर भएको हो। आरोपितले रु. ११ लाख ९६ हजार ६९५ बराबरको सरकारी सम्पत्ति हानि नोक्सानी गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।

Advertisement:bishesh-adalat-case

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकाले हानिनोक्सानी भएको बिगो असुल उपर माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । आयोगले रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङलाई प्रतिवादी बनाएको हो।

त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका–१ का जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेलडाँडा सामुदायिक वनका उपभोक्ताद्वय यमबहादुर थापा मगर र नन्दमाया खनाल तथा रूख कटानमा संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का सन्दीप नेपालीलाई समेत प्रतिवादी बनाइएको छ।

यसैगरी सबडिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरू राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङ्गेल र दिलीप महतोले पनि भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ। नापी कार्यालय महोत्तरीका तत्कालीन अमिन रामदरश राउत र मालपोत कार्यालय महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का समेत आरोपित छन्।

बर्दिबास नगरपालिका-१ का तत्कालीन वडाध्यक्ष चूडामणि पोखरेल, वडा सदस्य शान्तादेवी श्रेष्ठ र रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस् :