विद्यार्थीहरुको प्रतिभा प्रदर्शनका लागि वार्षिक उत्सवहरु अवसर हुने दावी

ललितपुर, ४ चैत्र / विद्यार्थीहरुको प्रतिभा प्रदर्शनका लागि विद्यालयहरुको वार्षिक उत्सव एउटा अवसर बन्न सक्ने दावी शिक्षाप्रेमीहरुले गरेका छन् । ललितपुरको ढोलाहिटीमा रहेको अनल ज्योति स्कूलको वार्षिक उत्सव समारोहका अतिथितहरुले यस्तो दावी गरेका हुन् ।

गत शनिवार सम्पन्न अनल ज्योति विद्यालयको वार्षिक उत्सव समारोहका प्रमूख अतिथि नेपाली एथलेटिक्सका महापुरुष अर्थात् नेपाली धावक वैकुण्ठ मानन्धरले विद्यालयहरुले विभिन्न कार्यक्रमहरु समेटेर मनाउने वार्षिक उत्सव समारोहमा कार्यक्रमको श्रृङ्गारस्वरुप विद्यार्थीहरुमा लुकेर रहेको बहुआयामिक प्रतिभा प्रदर्शन गर्ने मौका दिदा उनीहरुमा भएको प्रतिभा प्रष्फुटन हुने र यस्ता कार्यक्रमहरुले ती विद्यार्थीहरुको भविष्य निर्माण गर्न उत्प्रेरणा जागरण हुने बताए ।

Advertisement:

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली धावक वैकुण्ठ मानन्धरले अनल ज्योति स्कूलले बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरू गराएर उनीहरूको क्षमता विकास गराउदै आएकोमा विद्यालय व्यवस्थापन पक्षको क्षमताको प्रंसशा गर्दै थप सफलताका लागि शुभकामना ब्यक्त गरे । विद्यालयको वार्षिक कार्यक्रम Annual Day ” Expression ” 2024 का समारोहमा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुद्वारा प्रस्तुत गरिएका राष्ट्रिय गीत, लोक गीत, पप गीत, अङ्ग्रेजी गीत, ड्रील डान्स, तथा शास्त्रीय नृत्यसहित मारुनी गीतहरूमा नृत्यलगायतका प्रतिभामूलक प्रस्तुतिहरु बढो चाख दिएर हेरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस विद्यालयको वातावरण र विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै विगतका वर्षहरूमा ललितपुर महानगरपालिकाभित्रका विद्यालयबाट SEE मा ४ GPA ल्याउने विद्यार्थी र विद्यालयलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार दिँदै आएको र यस वर्षको SEE मा अनल ज्योति स्कुलका विद्यार्थीहरूले पनि ४ GPA ल्याएमा विद्यार्थीलाई रु २ लाख र विद्यालयलाई रु ४ लाख नगर पुरस्कार प्रदान गरिने बताए ।

त्यसैगरी सो कार्यक्रमका अतिथि मानव अधिकारकर्मी तथा ग्रामीण विकास समन्वयका कार्यकारी सल्लाहकार इन्द्रराज भट्टराईले विभेदरहित वातावरणमा बालबालिकाहरूलाई शिक्षा प्रदान गरिनु पर्ने साथै बालबालिकाहरूलाई जिज्ञासु, प्रश्नोत्तर गर्न सक्ने बनाउनु पर्नेमा जोड दिदै यस विषयमा अभिभावक तथा शिक्षकहरू जिम्मेवार हुनु पर्नेमा जोड दिए । उनले अनल ज्योति स्कुलका बालबालिकाहरूको प्रस्तुति ज्यादै उत्कृष्ट रहेकोमा विद्यार्थी तथा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।

अनल ज्योति स्कुलको वार्षिक कार्यक्रममा उक्त विद्यालयकी शिक्षिका अचला थापाले बालबालिकाहरूका लागि सिकाई निरन्तर प्रक्रिया भएको र कुनै पनि कुरा उनीहरूलाई सकारात्मक तरिकाले सिकाउदै आएको र यस विद्यालयका विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै नभएर उनीहरूको सृजनाशीलता र क्षमता विकासका लागि अतिरिक्त क्रियाकलापहरू पनि गराउने गरिएको जानकारी दिईन् ।

अनाथ तथा असहाय बालबालिकाहरूको शिक्षा, पालन पोषणलगायतका कार्यलाई निरन्तरता दिईनुका साथौ र यस विद्यालयमा पारिवारिक वातावरणमा, आवश्यक प्रविधिको उपयोग गर्दै कक्षा १० सम्मको अध्ययन हुने र छात्रावास सहित १२ जना विभिन्न प्रकार अपाङ्गता भएका बालबिलकाहरुले पनि अध्ययन गर्दै आएको विद्यालयकी संस्थापक र हालसम्म पनि सक्रीयरूपमा क्रियाशील रहेकी वरिष्ठ समाजसेवी एवं भलिबल संघकी केन्द्रीय सल्लाहकार ज्योति के.सी.ले जानकारी दिईन् ।

उक्त स्कूलका प्राचार्य निरोज महर्जनको सभापतित्वमा आयोजना भएको अनल ज्योति स्कुलको वार्षिक कार्यक्रममा ६ जना भूतपूर्व विद्यार्थी र ४ जना भूतपूर्व शिक्षकहरूलाई कदरपत्र सहित सम्मान पनि गरिएको थियो भने सम्मानित हुने भूतपूर्व विद्यार्थीहरुमा शान्ताराम तामाङ, साजन विष्ट, सब्बु विष्ट, अनिष राई, कल्याण थापा र सरोज घिमिरे रहेका थिए । त्यसैगरी भूतपूर्व शिक्षकहरुमा चम्पा राई, बिन्दा राई, नमिता थापा र कालुराम तामाङ सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् :