भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा एभरेष्ट क्लव

तातोखबर, काठमाडौँ / एभरेष्ट भलिबल क्लव मंगलवार आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनल पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार नेपाल पुलिस क्लबसँग ३-२ ले पराजित भए पनि एभरेष्ट सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’को एभरेष्टले तीन खेलबाट सात अंक जोडेपछि सेमिफाइनल यात्राका लागि पर्याप्त भएको हो।

Advertisement:

अनुभवी अरुणासहित उत्कृष्ट भारतीय खेलाडीको साथ पाएको एभरेष्टले पहिलो सेट २७-२५ ले आफ्नो पक्षमा पार्‍यो तर पुलिसले दोस्रो सेटमा २५-१८ को जित निकाल्दै पुनरागमन गर्‍यो। यद्यपि एभरेष्टले तेस्रो सेटमा २५-१६ ले आफ्नो बनाउँदै पुनः अग्रता लियो।

प्रतिस्पर्धात्मक चौथो सेट पुलिसले २७-२५ ले जित्यो। त्यससँगै खेल पाँचौं सेटसम्म लम्बियो। पाँचौं तथा निर्णायक सेट पुलिसले १५-९ को सफलता प्राप्त गर्दै जित निकाल्यो। यो समूहमा एभरेष्ट र गत संस्करणको विजेता पुलिससहित कर्णाली र त्रिभुवन आर्मी क्लब छन्।

अब बुधवार पुलिस र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। यो खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीका साथै समूहविजेता र उपिवेजा टुंगो लाग्नेछ।

मंगलबार नै आर्मीले कर्णाली प्रदेशलाई २५-१६,२५-२३, २५-७ ले हरायो। यसअघि एभरेष्टले कर्णाली प्रदेशलाई २५-१२, २५-७, २५-११ तथा आर्मीलाई २४-२६, २५-१७, २५-१९, २५-२२ ले पराजित गरेको थियो। पुलिसले पनि कर्णालीलाई २५-१२, २५-६, २५-८ ले हराएको थियो। महिलामा कुल सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।

पुरुषतर्फ एपिएफ समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशमाथि ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

यो जित एपिएफलाई उपविजेताका रूपमा क्वार्टरफाइनल पुग्न पर्याप्त बन्यो। समूह ‘बी’मा एपिएफले दुई खेलमा पाँच अंक जोड्यो। समान खेलमा सुदूरपश्चिमको चार अंक छ। सुदूरपश्चिमले सुरुआती दुई सेट २४-२६, १९-२५ ले गुमाएको थियो।

त्यसपछिका दुई सेट एपिएफले २८-२६, २५-२२, १५-१३ ले आफ्नो पक्षमा पार्दै जित निकाल्यो। मंगलवार नै साविक विजेता हेल्प नेपाल स्पोर्टस् क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-१८, २५-१५, २५-१४ ले हरायो।

प्रतिक्रिया दिनुहोस् :