पिछडिएका वर्गको उत्थानबिना गणतन्त्रको लक्ष्य प्राप्ति हुँदैन : राष्ट्रपति पौडेल

तातोखबर, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने जनाएका छन्।

बुधबार मुस्लिम आयोगको पाचौँ वार्षिकोत्सवलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधानसभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको जिकिर गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताएका छन् ।

Advertisement:

उनले संविधानको व्यावहारिक कार्यान्वय गर्न आग्रह गरे। उनले मुस्लिम समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

उनले समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए। यसका लागि तीन तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्ने तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक छ। राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुन्छ भन्ने मलाई लाग्दछ।’

राष्ट्रपति पौडेलले नेपाली समाजबाट लोकतन्त्र, सहिष्णुतापूर्ण र सहयोगपूर्ण व्यवहार विश्वले अनुकरण गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस् :