उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्नुपर्ने

samsad-udhyog-banijjya-upabhokta

तातोखबर, काठमाडौं / बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरुले सरकारले सञ्चालन गरेको उद्योगहरु निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्ने बताए। सांसदहरुले वर्तमान सरकारले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट र क्षमता छ? भन्दै उद्योग मन्त्रीलाई प्रश्नसमेत गरेका छन्।

Advertisement:samsad-udhyog-banijjya-upabhokta

उनीहरुले सरकारले सञ्चालन गरेका उद्योग आर्थिक रुपमा धरासायी हुनु चिन्ताको विषय रहेको भन्दै आगामी दिनमा निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने र नाफामा लैजाने गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनीहरुले विगतका राज्यले मुलुकभित्रै कच्चा पदार्थ,जनशक्ति र उपभोग पनि मुलुकभित्रै गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका उद्योग व्यवस्था परिवर्तनसँगै निजीकरण भएको बताए।

उनीहरुले बाँकी रहेका उद्योग पनि आर्थिक रुपमा धरासायी रहेको भन्दै अब राज्यले तदारुकताका साथ उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनीहरुले राज्य एक्लैले सञ्चालन गर्न नसक्ने भए नीतिगत रुपमा निजी साझेदारीमा जाने विकल्पमा जान पनि सुझाव दिए। उनीहरुले सरकारले उद्योग सञ्चालन गरी बजारको समेत व्यवस्थापन गर्न आवश्यक रहेको बताए। बैंठकमा नेपाली काँग्रेसका सांसद राजु थापाले उद्योगमन्त्री दामोदार भण्डारीलाई उद्योग चलाउन सक्ने आँट छ? भन्दै प्रश्न गरे।

उनले सरकारको स्वामित्वमा रहेका उद्योगहरु सञ्चालन गर्ने दायित्व सरकारको भएको बताए। उनले सरकार र मन्त्रीको उद्योग चलाउँछु भन्ने इच्छाशक्ति हुन आवश्यक रहेको बताए। उनले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग चल्न आवश्यक रहेको बताए।

उनले पञ्चायत कालमा सुरु भएका उद्योग प्रजातन्त्र आएपछि धरासायी भएको बताए। सरकारी उद्योगमा मन्त्रीका पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रुपमा लैजाँदा पनि उद्योग माथि उठ्न नसकेको उनको भनाइ छ।

उनले निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योगहरु फस्टाएकाले सिमेन्टमा मुलुक आत्मनिर्भर भएको बताए। उनले अब सरकारले दुई उद्योग सञ्चालन गर्न नसक्ने भए निजी साझेदारीमा भए पनि चलाउन आवश्यक रहेको बताए।

नेकपा एमालेका सांसद हेमराज राईले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्ने वा निजी साझेदारीमा सञ्चालन गर्ने भन्ने विषयमा राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताए।

उनले पञ्चायत कालमा स्थापना भएका उद्योगहरु मुलुककै कच्चा पदार्थ,रोजगारी र उपभोगसमेत मुलुकभित्रै हुने अवधारणामा सञ्चालनमा आएको बताए।

उनले विगतमा सरकारी उद्योग निजीकरण हुँदा पनि भएको समस्यालाई सिकाइको रुपमा लिएर राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए।

नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर राम्रो हुँदा पनि बजार व्यवस्थापन गर्न नसक्दा उद्योग धराशायी बनेको बताए।

प्रतिक्रिया दिनुहोस् :