प्रहरी समायोजन गर्न छलफल तीव्र : गृहमन्त्री लामिछाने
तातोखबर, जनकपुर / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रूप दिन छलफल तीव्र पारिएको बताएका छन्।
जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता दिन गम्भीर भएर छलफल तीव्र बनाइएको बताए। पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन छिटै गर्ने अभिव्यक्ति दिइरहेका वेला गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागे पनि त्रुटिबिना समायोजन गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरूसँग दुई चरणको छलफल समेत भइसकेको बताए। यद्यपि प्रहरी समायोजनको मिति ठ्याक्कै यही दिन भन्न नसकिने उनको भनाइ थियो।
लामिछानेले भने, ‘प्रहरी समायोजनको ड्राफ्ट भएको छ। मैले पदभार सम्हालेपछि त्यसलाई छलफलको विषय पनि बनाएका थियौँ। त्यसमा काम गर्ने ठाउँ थुप्रै छन्। निरन्तर रूपमा अघि बढाउने कुरामा हामी छलफल गरिरहेका छौँ।’
गृहमन्त्री लामिछानेले आरोप लाग्ने र उजुरी पर्नेबित्तिकै सांसद एवं मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्नुपर्ने बताए। उनले नेपाली काँग्रेसले राजीनामा माग गरेको र संसद् अवरोध गरिरहेकोबारे सञ्चारकर्मीको प्रश्नमा काँग्रेसको मागभन्दा रास्वपाले एक कदम अघि बढेर उजुरी पर्नेबित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरिसकेको बताए।
कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने आफूहरूको माग रहेको स्पष्ट पारे।