नेशनल पेमेन्ट गेट-वे खरिद प्रकरण : सुनिल पौडेल दोषी ठहर, वैशाख २५ मा सजाय तोकिने

तातोखबर, काठमाडौँ / नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल चर्चित नेशनल पेमेन्ट गेट-वे खरिद प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई नेशनल पेमेन्ट गेट-वे खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

भ्रष्टाचारको मुद्दा दर्ता भएपछि पनि राष्ट्र बैंकको स्वीकृति बिना विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहँदा नै अन्तरराष्ट्रिय परामर्शदातामा औपचारिक रुपमै नियुक्ति लिएको देखिएपछि सुनिल पौडेल भाग्ने तथा प्रमाण नष्ट गर्ने सम्भावना देखेपछि अख्तियारले उनलाई गत माघ १० गते नियन्त्रणमा लिएको थियो ।

Advertisement:

अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक रहेका पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गर्न वैशाख २५ गतेका लागि पेशी तोकेको छ। अन्य ८ जना आरोपीले भने सफाइ पाएका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यय, उपनिर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, लेखा अधिकृतहरु निमबहादुर वली, रामबहादुर बुढा, कम्प्युटर इन्जिनियर रामशरण गायक र अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख मधुकुमार मरासिनीले सफाइ पाएका हुन् ।

केन्द्रका तत्कालीन कार्यकारी निर्देशकको समेत मिलेमतो र योजनामा नेशनल पेमेन्ट गेट-वे खरिदमा अस्वभाविक लागत तयार पारेर स्वीकृत गराइ २५ करोडमा खरिद गरेको पाइएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् :