माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन गर्ने राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालको चेतावनी

Chandra-bahadur-Thapa

तातोखबर, काठमाडौँ / राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले आफ्ना माग१५ दिनभित्र पूरा नभए देशव्यापी रूपमा सामूहिक सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएको छ।

आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले सरकारले आफूहरूका माग वैशाख २३ गतेसम्म पूरा नगरे आन्दोलन जाने चेतावनी दिएको हो । आइतवार पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समिति नेपालका संयोजक चन्द्रबहादुर थापाले राज्य प्रशासनबाटै विभिन्न नाममा पेशा–व्यवसायी तथा मजदुरमाथि शोषण, अन्याय र अत्याचार भइरहेको बताएका छन् ।

Advertisement:Chandra-bahadur-Thapa

राष्ट्र, अर्थतन्त्र, धर्म, संस्कृति र जनताको जीवन रक्षाका निम्ति ‘स्वदेशमै काम गरेर खान दे’ भन्ने मूल नारासहित आन्दोलनको घोषणा गर्नुपरेको उनले बताए। उनले सम्पूर्ण नागरिकहरू गर वा मरको स्थितिमा रहेको भन्दै आफ्ना माग २०८१ वैशाख २३ गतेसम्म (१५ दिनभित्र) पूरा नभए काठमाडौँ लगायत देशव्यापी रूपमा सामूहिक सत्याग्रह सहितको आन्दोलन गर्ने बताए ।

राज्यले तोकेको मापदण्डभित्र रहेर नेपाली नागरिकले नेपालभित्र गरेको कुनैपनि क्षेत्रको लगानीलाई राष्ट्रिय पुँजीको रूपमा घोषणा गरी तिनको रक्षा प्रवर्धन र विकासका लागि राज्यका तर्फबाट आवश्यक कानूनी व्यवस्था गर्न माग गरे ।

उनले बैंकिङ कर्जा ब्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने र कालोसूची वा लिलामी प्रक्रियामा गएकोलाई तत्कालै बन्द गरी न्यूनतम २ वर्षको अवधि थप गर्नुपर्ने, जग्गा जमिन लिलामी गरेको भए पुनःमूल्यांकनको व्यवस्था गर्नुपर्ने माग आफुहरुले अघि सारेको बताए ।

उनले भने, ‘वर्तमान अस्थिर राजनीति, सरकारको गलत वित्तीय/मौद्रिक निति तथा शासकहरूको नागरिकप्रति गैरजिम्मेवारपनका कारण सिङ्गो देश, सम्पूर्ण उद्यमी व्यवसायीहरू तथा आमनागरिकको अवस्था चरम सङ्कटबाट गुज्रिरहेको छ। राज्य प्रशासनबाटै विभिन्न नाममा पेशा– व्यवसायी तथा मजदुरमाथि चरम शोषण, अन्याय र अत्याचार थोपरिएको छ। २०८१ वैशाख २३ गतेसम्म १५ दिनभित्र माग पूरा नभए देशव्यापी रूपमा सामूहिक सत्याग्रह सहितको कडा आन्दोलनमा जाने जानकारी गराउन चाहन्छौँ।’

प्रतिक्रिया दिनुहोस् :