लगानी सम्मेलनमा देशको इज्जतमाथि धक्का लाग्ने गरी लापरबाही

lagani-sambelan-registration

तातोखबर, काठमाडौँ / आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्र अघि आउने पाहुनाहरूको संख्या बढेपछि भद्रगोल भएको छ। सम्मेलनको पहिलो दिनमा रजिस्ट्रेशन गर्न गर्नै हम्मेहम्मे परेको थियो।

स्वदेश तथा विदेशका गरी १५ सय लगानीकर्ता सहभागी हुने अनुमान गरिएकोमा पछि ६ सय जति थपिएपछि हलमा खचाखचको स्थिति उत्पन्न भएर सबैलाई अर्को हलमा सारिएको थियो।

Advertisement:lagani-sambelan-registration

सम्मेलनमा १४ सय नेपाली र ८ सय जति विदेशी लगानीकर्ता सहभागी भएको लगानी बोर्डका प्रवक्ता प्रधुम्न उपाध्यायले जानकारी दिए ।

यसअघि दुईवटा लगानी सम्मेलन सम्पन्न गरिसकेको नेपाल सरकारले त्यो अनुभव बाट सिक्न नसक्दा देशको इज्जतमाथि धक्का लाग्ने गरी लापरबाही सिर्जना भएको हो।

लगानी आउनेमा बोर्ड सकारात्मक  रहेको प्रवक्ता उपाध्यायले बताए । एउटा नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ भने अर्को बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाका लागि समझदारीमा हस्ताक्षर भएको छ।

सोमबार समापन हुने सम्मेलनमा नेपालले ९ खर्ब बराबरका डेढ सयभन्दा बढी परियोजना प्रस्तुत गरेको छ।

यसैगरी चीनको कान्च प्रिफेक्चर शहरका सरकारी प्रतिनिधि र नेपालका निजी क्षेत्रका प्रतिनिधिबीच दुई देशको संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा समेत छलफल भएको उनले बताए ।

दुई पक्षका प्रतिनिधिबीच नेपाल र कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावना र व्यापार आदानप्रदानका बिषयमा छलफल भएको छ। कान्च प्रिफेक्चर पोखरा महानगरपालिकासँग पहिलो भगिनी सम्बन्ध गाँस्ने शहर रहेको छ ।

सम्मेलनमा कति लगानी प्रतिबद्धता आउँछ भन्ने अहिले नै यकिन नभइसकेको र त्यसकालागि सरकारले सबै सँग आह्वान गरिसकेको छ। लगानी सम्मेलनको इभेन्ट म्यानेजमेन्टका लागि बेलायत सरकारले २ करोड रुपैयाँ अनुदान दिएको थियो । यो रकमले नपुगे निजी क्षेत्रलगायतसँग सहयोग माग्न सकिने बोर्डले जानकारी दिएको छ।

काठमाडौँको सोल्टी होटेलमा जारी सम्मेलनका लागि आएका विदेशी पाहुनाहरू काठमाडौँका बिभिन्न ठूला होटेलमा बसेका छन् ।

गतसाता कतारका राजा बसेको सोल्टी होटलमा हाल वेस्ट इन्डिज ‘ए’ टोली पनि रहेको छ । त्यहाँ १८५ मध्ये सम्मेलनका लागि १५० वटा कोठा उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस् :