एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षक पक्राउ
तातोखबर, रौतहट / एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार उनीहरुलाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्स एपमा एसईई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्र तथा सोको उत्तरसमेतका विषयवस्तुहरू ह्वाट्स एपलगायतका विभिन्न सामाजिक सञ्जालमा आदानप्रदान गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै आफू परीक्षा निरीक्षकको रूपमा खटी चिट चोर्न लगाउने कार्य गरी परीक्षाको मर्यादा भङ्ग गरेको भन्दै प्रहरीले राजदेवी नगरपालिका–१ बस्ने श्री मावि पथराका प्रधानाध्यापक ४५ वर्षीय उतिचन्द्र यादवलाई पक्राउ गरेको छ।
त्यस्तै परीक्षा निरीक्षकका रूपमा खटेर चिट चोराउने सरस्वती मावि पिपरा परीक्षा केन्द्रका परीक्षा निरीक्षकको रूपमा खटिएका २२ वर्षीय ललन राय यादव, श्री पथरा बुधराम परीक्षा केन्द्रमा खटिएका ४८ वर्षीय राम अमोद प्रसाद यादव र शंकर मावि सरमुज्वा परीक्षा केन्द्रमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उता सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा अनधिकृत रूपमा परीक्षा केन्द्रमा प्रवेश गरी चिट चोराएको आरोपमा प्रहरीले राजपुर नगरपालिका–१ बस्ने ३१ वर्षीय राम सोगारथ साहलाई पक्राउ गरेको छ।
सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार उनीहरूलाई शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
त्यस्तै मंगलबार परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा १२ जना पक्राउ परेका थिए। मंगलबार रौतहट जिल्लाको मौलापुर नगरपालिकाअन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइलमार्फत चिट चोरी गराउँदै गरेको अवस्थामा पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राम विनय सिंहले जानकारी दिए।
हाल सञ्चालन भइरहेको एसइई परीक्षालाई मर्यादित बनाउने उद्देश्यले नियमित रुपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट अहिले १७०० थान मोबाइल जफत गरिएको जिल्लास्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका जानकारी दिए।
परीक्षा हलमा जाँच गर्ने क्रममा जफत गरिएका मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गरी कानूनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु