ग्वार्को फ्लाइओभर : समयमै काम नसकिए निर्माणस्थलमै अनशन बस्ने चेतावनी

gwarko-fly-over-brodge

काठमाडौं / ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्ती भएको भन्दै स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार ललितपुरको ग्वार्कोमा निर्माणधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन्। उनीहरूले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए।

Advertisement:gwarko-fly-over-brodge

फ्लाइओभरको निरीक्षण र स्थानीयहरुलाई साथ दिन पुगेका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए।

उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकाभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए।

उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरुलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे। उनले जेठ मसान्तसम्म सक्ने प्रतिबद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभर निर्माणस्थलमै अनशन बस्न बाध्य हुने चेतावनी दिए।

उनले भने, ‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो। यो नभई नहुने परियोजना हो। यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकारभरकै ट्राफिक प्रणालीमा असर पारेको छ। स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन्। असारको पहिलो हप्तास्म्म यहाँबाट गाडी गुडाउँछौँ, भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। त्यो अुनसारको काम भइरहेको छैन भन्ने हामीलाई लाग्छ।’

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ। चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

 

प्रतिक्रिया दिनुहोस् :