फोहोरका गाडी रोक्ने १३ जना स्थानीय बञ्चरेडाँडाबाट पक्राउ

Bancharedanda-fohor

तातोखबर, काठमाडौं / काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्ने १३ जनालाई प्रहरीले बन्चरेडाँडाबाट पक्राउ गरेको छ। आज बिहान फोहोर बोकेका टिप्परहरुलाई स्थानीयहरुले रोकेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको  सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली बञ्चरेडाँडामा पुगेको थियो। अधिकारीका अनुसार पक्राउ परेका उनीहरुलाई बालाजु प्रहरी वृत्तमा राखिएको छ।

Advertisement:Bancharedanda-fohor

उनीहरुबारे आजै थप निर्णय हुने अधिकारीले बताए । अहिले भने सहज रुपमा फोहोर व्यवस्थापन भइरहेको उनको भनाइ छ। ४० वटा टिप्पर फोहोर लिएर बन्चरेडाँडा पुगेका छन्। विगतका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीय बासिन्दाले आजदेखि फोहोर विसर्जनम पूर्वघोषणा अनुसार नै अवरोध गरेका थिए। ‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुंगानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेश गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाएको बताए।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार ५ सय टन फोहोर विर्सजन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस् :