‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई कर बुझाउन महानगरकाे पत्राचार

kathmandu-metropolitan-city

ताताेखबर, काठमाडौँ / काठमाडौँ महानगरपालिकाले  ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई ३५ दिनभित्र कर बुझाउनका लागि पत्राचार गरेको छ ।

लामो समयदेखि बहाल कर तिर्न आलटाल गरेकाले काठमाडौँ महानगरले पत्र लेखेको हो । आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर नतिरेको महानगरले जनाएकाे छ  । ‘पिपुल्स प्लाजा’ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जानकारी दिएकाे छ ।

Advertisement:kathmandu-metropolitan-city

कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेकाले कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।

यो विषयमा कामपाले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो। यसपछि टोलीले कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले जानकारी दिए ।

लामो समयसम्म बक्यौता रकम तिर्न आलटाल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन दिएको हाे ।

घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ। आरबी कम्प्लेक्समा ३१५ व्यवसायी र पिपुल्स प्लाजामा १६० व्यवसायी छन्।

‘यी व्यवसायीले व्यवसाय कर तिर्नुपर्छ। बहाल अंकमा लाग्ने बहाल कर स्थानीय सरकारलाई तिर्ने हो, बहाल आयमा लाग्ने कर संघीय सरकारलाई तिर्ने हो’, काफ्लेले प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस् :