सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेसले अवरोध गर्न सक्ने

Samsadd-pratinidhisabha

तातोखबर, काठमाडौं / सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम आजको संघीय संसद् संयुक्त बैठकमा पेस हुने भएको छ ।

आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

Advertisement:Samsadd-pratinidhisabha

तर संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन्। दलहरुको आ-आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ। आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन।

कांग्रेसले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षमा रहेका छन्। कांग्रेस पनि टसका मस भएको छैन्। सोमबार दिनभरजसो भएका छलफल निष्कर्षमा नपुगेपछि आज थप गृहकार्यमा नेताहरु जुट्दै छन्।

त्यसअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। विहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालयमा दलको बैठक बसेर थप निर्णय गरिने सचेतक सुशिला थिङले जानकारी दिइन्।

धमलाका अनुसार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्राछुट्टै छलफल गरिने छ।

प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस् :