प्रतिनिधिसभा बैठकमा आज पनि कांग्रेसले अवरोध गर्ने
काठमाडौं / संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज शुक्रबार बस्दैछ।
बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि असहज स्थिति उत्पन्न भएको थियो। सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएका थिए। लामिछानेलाई रोक्न खोजेपछि एमालेका सांसद प्रतिकारमा उत्रिएका थिए। यसका कारण दुई पक्षका सांसदबीच धकेलाधकेलको स्थिति उत्पन्न भयो।
सहकारीको बचत हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ।शुक्रबारको बैठकमा पनि विरोध जारी राख्ने कांग्रेसले जनाएको छ। यद्यपि बैठक बस्ने, नबस्ने अन्योल पनि कायमै छ।
बैठकको कार्यसूची
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ।
सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने कार्यसूची छ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति टेबुल गर्ने कार्यसूची छ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते संघीय संसदको दुवै सदनमा गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।