नेपाली कांग्रेसले संसदलाई मुठभेडतर्फ लैजान खोजेको एमालेको आरोप

mahesh-bartaula-CPN-UML

काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदलाई मुठभेडतर्फ लैजान खोजेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप‍ लगाए । उनले कांग्रेसले संसदमा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान खोजेको आरोपसमेत लगाएका हुन् ।

Advertisement:mahesh-bartaula-CPN-UML

‘हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली कांग्रेसका एक जना नेता, जसलाई स्वर्गमा पुगेका पितृहरुले पनि निर्वाचनको वेलामा प्रकट भएर भोट दिएर पठाएर निर्वाचित गरेर पठाए, ती त्यस्ता व्यक्तिले संसदबाट, संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे‚’ उनले भने‚ ‘यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद चलाउने होइन। भिडभाड, दादागिरी र उद्दण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने अस्तिको घटनाबाट देखिन्छ।’

शनिवार काठमाडौँमा आयोजित युवा विषयक विचार गोष्ठीमा प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसदमा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको आरोपसमेत लगाए।

‘नेपाली कांग्रेसले संसदमा गरिरहेको हर्कत हेर्नुहोस्। संसदमा सत्ता पक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने आसन निर्धारण गरिएको हुन्छ‚’ प्रमुख सचेतक बर्तौलाले भने, ‘तर प्रमुख प्रतिपक्षका साथीहरुले बेल घेराउ गर्न जानुभएको, नारा लगाउनुभएकोमा हामीलाई आपत्ति छैन। तर सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उद्दण्ड प्रस्तुतिहरु उहाँहरुबाट भईरहेको छ। यसले संसदीय राजनीतिको इतिहासमा, संसदीय परम्परामा यो एउटा कालो दिनको रुपमा अस्तिको घटना रह्यो।’

प्रतिक्रिया दिनुहोस् :