सिनेमाटिक कमब्याकसहित आरसीबी प्लेअफमा
रोयल च्यालेंजर्स बेन्गलुरुको होम ग्राउण्ड एम. चिन्नस्वामी स्टेडियममा भएको इण्डियन प्रिमियर लिगको ६८औँ खेलमा आज अत्यन्तै न्युनतम सम्भावनाको बावजुद चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै रोयल च्यालेंजर्स बेन्गलुरुले आईपीएल २०२४ को प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यसअघिको ६ ओटा खेलमा लगातार हार व्यहोरेको आरसिबीको यो लगातार छैठौं जित पनि हो । आईपीएल २०२४ को पहिलो खेलमा चेन्नईसँगै भएको खेलमा हार व्यहोरेको आरसीबीले चेन्नईलाई नै हराउँदै यो जितसँगै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
टस जितेर फिल्डिंग रोजेको चेन्नईलाई आरसीबीले ४ विकेट गुमाई २१९ रनको लक्ष्य दिएकोमा सीएसके ले २० ओभरमा ७ विकेट गुमाउंदै १९१ रन मात्र जोड्न सफल भएको थियो ।
प्लेअफका लागि आफ्नो स्थान सुरक्षित गर्नका लागि बेन्गलुरुलाई कम्तीमा १८ रनले चेन्नईलाई जित्नुपर्ने दबाव थियो । पहिलो इनिन्ग्स मा आरसिबीका लागि विराट कोहलीले २९ बालामा ४७ रन, फ्याफ डुप्लेसीले ३९ बलमा ५४ रन, रजत पाटिदारले २३ बलमा ४१ रन, क्यामरून ग्रीनले नट आउट खेल्दै १७ बलमा ३८ रन, दिनेश कार्तिकले ६ बलमा १४ रन र ग्लेन म्याक्सवेलले ५ बलमा १६ रनको योगदान गरेका थिए ।
पहिलो इनिंगमा चेन्नईका तर्फबाट ४ ओभर बलिङ गर्दा शार्दुल ठाकुरले ६१ रनको क्षतिमा २ विकेट, तुषार देशपाण्डेले ४९ रनको क्षतिमा १ विकेट र मिशेल स्यान्टनरले २३ रनको क्षतिमा १ विकेट लिन सफल भएका थिए । त्यसैगरी रवीन्द्र जडेजाले ३ ओभर बलिङ गर्दा आरसिबी ले ४० रन जोड्न सफल भएको थियो भने सिमरजीत सिंहले १ ओभर बलिङ गर्दा आरसिबीले १९ रन जोडेको थियो ।
दोस्रो इनिंगमा प्लेअफका लागि कम्तीमा २०० रन जोड्नपर्ने दबावमा रहेको चेन्नईको खेलको सुरुवाती बलमै म्याक्सवेलले चेन्नईका क्याप्टेन ऋतुराज गाइकवाडको विकेट लिएका थिए ।
चेन्नईका लागि रचिन रवीन्द्रले सर्वाधिक ६१ रन ३७ बलमा जोडेका थिए भने क्रमश: रवीन्द्र जडेजाले २२ बलमा ४२ रन, अजिंक्या रहानेले २२ बलमा ३३ रन र एम.एस. धोनीले १३ बलमा २५ रन जोडेका थिए ।
आरसिबीको तर्फबाट ग्लेन म्याक्सवेलले उत्कृष्ट ६.२५ को इकोनोमिका साथ ४ ओभरमा २५ रनको क्षतिसँगै १ विकेट लिएका थिए भने क्रमशः मोहम्मद सिराजले ३.२ ओभरमा २८ रनको क्षतिमा १ विकेट, यश दयालले ३ ओभरमा ३५ रनको क्षतिमा १ विकेट, क्यामरुन ग्रीनले २ ओभर बलिङ गर्दै १८ रनको क्षतिमा १ विकेट, लोकी फर्गुसनले २ ओभर बलिङ गर्दै २१ रनको क्षतिमा १ विकेट लिएका थिए भने स्वप्निल सिंहले बिना विकेट २ ओभरमा १३ रन मात्रै दिएका थिए ।