संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

law-ministry-kanun-nepal

काठमाडौं / सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दैछ। बैठक अहिले बिहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बस्न लागेको हो।

बैठकले संसदीय समितिको टीओआर तयार पार्ने कार्यदल सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक-पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

Advertisement:law-ministry-kanun-nepal

तर समिति कस्तो बन्ने, जिम्मेवारी के-के हुने जस्ता विषयमा सहमति भइसकेको छैन। समितिको टीओआर कार्यदलले तयार पारेपछि मात्रै बाँकी कुरा भन्न सकिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए। यसअघि बिहीबार भएको सहमतिको प्रयास सफल हुन सकेको थिएन भने त्यसैदिन अपराह्न बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रमुख प्रतिपक्षी दलबीच धकेलाधकेल भएको थियो।

बिहीबारको बैठकमा रास्वपा संसदीय छानबिन समिति बनाउन सकिनेमा सहमत भए पनि गृहमन्त्री रवि लामिछानेको नाम राख्न सहमत भएको थिएन। शनिबार दलहरुबीच भएको सहमतिमा लामिछानेको नाम राख्ने वा नराख्ने विषयमा सहमति भएको छैन।

कार्यदलमा कानूनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा सांसद शिशिर खनाल छन्। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् :