तातोखबर, काठमाडौं / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ। उक्त रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले गर्ने छ ।
आफ्नो दल छाडेका सात जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नपाउने गरी रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। जसपा नेपालका तर्फबाट सर्वोच्चमा दायर गरिएको रिटमा पार्टीबाट फुटेका सांसदलाई प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन माग गरिएको छ। यस्तै अरु संसदीय गतिविधिमा पनि सहभागी हुनबाट रोक्न माग गरिएको छ।
जसपाले यसअघि पार्टी विभाजन र नयाँ दल दर्ता रोक्न माग गर्दै रिट हालेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रकृया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसद्मा चौथो पटक विश्वासको मत लिँदै छन्। दलहरुबीच अविश्वास र सदनको अवरोध कायमै रहेकोले आजको संसद सहज रुपमा चल्छ कि चल्दैन भन्ने निश्चित भने भइसकेको छैन्।