चालु आवको १० महिनामा साढे २५ अर्बको रासायनिक मल आयात

rasayanik-mal

तातोखबर, काठमाडौँ / चालु आर्थिक वर्षको १० महिनामा साढे २५ अर्ब रुपैयाँ बराबरको रासायनिक मल नेपाल भित्रिएको छ।

भन्सार विभागले जारि गरेको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि वैशाखसम्म २५ अर्ब ५६ करोड रुपैयाँको रासायनिक मल आयात भएको देखाएको छ ।

Advertisement:rasayanik-mal

गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो । यो गत वर्षको १० महिनाको तुलनामा ६ अर्ब ३१ करोड रुपियाँ कम मल आयात भएको छ।

नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।

नेपालमा आयात हुने रासायनिक मललगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियमलगायतका मल आयात भएको छ ।

विभागका अनुसार तुर्किमिनिस्तानबाट १ अर्ब ११ करोड रुपैयाँको युरिया आयात हुँदा साउदी अरेबियाबाट १ अर्ब ११ करोड रुपैयाँको युरिया भित्रिएको हो।

रुसबाट २ अर्ब ५५ करोडको युरिया, कतारबाट १ अर्ब ८९ करोडको र ओमानबाट ४ अर्ब ७० करोड रुपैयाँको युरिया आयात भएको छ । चीनबाट २५ करोडको र ब्रुनाईबाट ३ अर्ब ४६ करोड रुपैयाँको युरिया भित्रिएको छ ।

संयुक्त अरब इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट ५ करोड १३ लाख रुपैयाँको आयात भएको छ ।

टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको छ। क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाख रुपैयाँको पोटास आयात भएको छ ।

धान बाली, गहुँ बाली, तरकारी बालीलगायतका अन्य बालीमा रासायनिक मल प्रयोग हुन्छ। अन्य बालीको तुलनामा धान बालीका लागि रासायनिक मलको माग बढी हुने गर्छ।

प्रत्येक वर्ष धान रोप्ने वेला बजारमा रासायनिक मलको माग बढी हुने गर्छ। मागअनुसार मलको आपूर्ति नहुँदा प्रत्येक वर्ष किसानले अभाव खेप्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस् :