माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको थियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालको सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेश प्रदेशमा पनि अर्को सरकार नबन्ने जिकिर गरे । उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रुपले नलिएको बताए ।

Advertisement:

उनले अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिए पनि अहिलेको समीकरणभन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताए ।

उनले भने, ‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन । माधवजी पहिलादखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरणभन्दा बाहिर छैन, हुँदैन भन्नेकुरा क्लियर गर्नुभएको छ । कोशी प्रदेशलाई उसको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको छ। कोशीलाई कम बजेट भयो भन्नेकुरा सही होइन। बजेटमा धेरै चिज नयाँ छ । उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको छ। समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन ।’

उनले कोशी प्रदेशलाई बजेट कम भयो भन्ने कुरा सही नभएको बताए । उनले प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस् :