बजेटप्रति ओलीको असन्तुष्टि : माओवादीतिर मात्रै ढल्केको बजेट आयो

kp-oli-samsad

तातोखबर, काठमाडौं / सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी पनि गरे ।

Advertisement:kp-oli-samsad

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमी कमजोरी सरकारले गरेको दाबी गरे। अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे ।

उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए ।

ओलीले भने, ‘अहिले हामीसँग प्रश्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरुसँग सम्बन्धित खास गरी भन्सार र आयकरसम्बन्धी अरू विभिन्न प्रकारका करहरु सम्बन्धि या सम्पूर्ण आयको अनुमानसम्बन्धी र व्ययका क्षेत्रहरु र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले। हामी जानुपर्ने कता हो? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकी रहन्छ ।

रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढि एकातिर ढल्किएको खालको जस्तो देखिन्छ। यो कमी रहेको छ । एउटा चाहीँ हामीमा कुनै दुविधा हुनुहुँदैन-यस बजेटलाई हामी समर्थन गर्छौं। र पारित गर्छौं ।’

अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस् :