भारतमा को बन्ला त नयाँ प्रधानमन्त्री ?

india-election

काठमाडौं / भारतमा  भारतमा लोकसभाको चुनाव सकिएको छ। शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै लोकसभाका सबै ५४३ निर्वाचन क्षेत्रमा मतदान भएका हुन्।

४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको हो। चुनावको नतिजा भने ४ जुनमा आउनेछ।

Advertisement:india-election

विश्वकै ठूलो लोकतान्त्रिक देश भारतमा छिटफुट हिंसाका समाचारबाहेक सबैतिर शान्तिपूर्ण चुनाव भएको छ। सधैंभरी आतंकवादी आक्रमणको त्रासमा रहँदै आएको कश्मीरमा यसपटक सर्वाधिक मतदान भएको पाइएको छ।

सत्तारुढ भारतीय जनता पार्टीले तेस्रोपटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा होमिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतभरि सयौं र्‍याली तथा सभालाई सम्बोधन गरे। उनी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन्। यसपटक जिते भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन्।  यसपटक पनि मोदी नै दोहोरिने विभिन्न एक्जिट पोलले बताएका छन्। मोदीको गठन्धनले चारसय पार गर्न सक्ने केहीको अडकलबाजी रहेको छ।

कट्टर हिन्दुवादी पार्टीका रूपमा चिनिएको भारतीय जनता पार्टी भाजपाले हिन्दु मतलाई आफ्नो पक्षमा ध्रुवीकृत गरेर चुनावमा जित्ने रणनीति लिएको देखियो। भाजपालाई कांग्रेस नेतृत्वको विपक्षी ‘इन्डिया’ गठबन्धनले देशैभर चुनौती दिएको छ।

कांग्रेस नेता राहुल गान्धीले विपक्षी गठबन्धनको अगुवा गर्दै चुनावभर देश दौडाहा गरेका थिए । समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरु भाजपालाई हराउन चुनावी मैदानमा डटेका थिए।

पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिँदै आएका छन्।

९७ करोड मतदाता रहेको भारतमा यसपटकको चुनावमा अघिल्लो पटकहरुभन्दा कम मतदान भएको छ। हरेक चरणमा मतदान प्रतिशत घटेको छ। समग्रमा भएको मतदानको प्रतिशत निर्वाचन आयोगले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

शनिबार अन्तिम चरणमा भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणासीमा पनि मतदान भएको छ। त्यहाँ कांग्रेसले अजय रायलाई उतारेको छ। कांग्रेस नेता राहुल गान्धी केरलको वायानाड र उत्तर प्रदेशको रायबरेली दुई स्थानबाट चुनावी मैदानमा उत्रिएका छन्। देशैभर ईभीएमबाट मतदान भएको छ। सबैतिरको मतगणना एकैसाथ जुन ४ का दिन हुनेछ।

सत्तारुढ भाजपा र इन्डिया गठबन्धन दुवैले आ–आफ्नो जितको दाबी गरेका छन्। भाजपा अध्यक्ष जेपी नड्डाले भारी बहुमतका साथ आफ्नो सरकार पुनः बन्ने दाबीलाई दोहोर्‍याएका छन्। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले इन्डिया गठबन्धनले कम्तीमा २९५ सिट जित्ने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस् :