हेटौंडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्णरूपमा सञ्चालन
जेठ २१, हेटौंडा / हेटौंडालाई काठमाडौँ सम्म जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको कान्ति लोकपथमा सोमबारदेखि यातायात पूर्णरूपमा सञ्चालनमा आएको छ।
मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि यो मार्गमा सवारीसाधन बन्द गरिएको थियो। कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए।
‘ललितपुरको बागमती गाउँपालिका-३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको र काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको उनले जानकारी दिए। ‘ललितपुरतर्फ सिंगल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी छ’, उनले भने, ‘बाँकी काम अर्को आर्थिक वर्षमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि पूर्णरूपमा सञ्चालन हुनेछ।’
वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो। काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ ।
यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ। कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर रहेको छ । यसमध्ये बुद्धचोकदेखि-टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो।
टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरे पनि स्थानीयवासीको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु