बालेनले ओलीमाथि प्रयोग गरेका अशिष्ट अभिव्यक्ति सच्याउनुपर्छ : महेश बर्तौला

mahesh_bartaula_CPN_UML

काठमार्डौँ / नेकपा एमाले का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका पछिल्ला अभिव्यक्तिले आफैँलाई गिज्याइरहेको टिप्पणी गरेका छन्।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको बर्तौलाले बताए।

Advertisement:mahesh_bartaula_CPN_UML

मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर शाहले दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए।

प्रमुख सचेतक बर्तौलाले मेयर शाहले इतिहासलाई अवमूल्यान गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौती दिएको भन्दै आक्रोश व्यक्त गरे। उनले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालका गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर शाहलाई सचेत गराए।

प्रमुख सचेतक बर्तौलाले भने, ‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तुहरु आयो। महानगरपालिकाका मेयरजीले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरु जसरी गरिरहनु भएको छ। त्यो राम्रो होइन। उहाँ स्वयमले त्यो संस्थाको गरिमालाई गिज्याइरहनु भएको छ। मेयर जस्तो एउटा सम्मानित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीले होचो बनाइरहेको छ। स्वयम उहाँले सोच्नुपर्छ र सच्याउन पर्छ।’

प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनै पनि व्यक्तिले चुनौती दिन नमिल्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस् :