तराईमा गर्मी बढेपछि ‘लू’का बिरामी बढ्न थाले

mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

काठमाडौँ / देशभर उखरमाउलो गर्मी बढेपछि अस्पतालमा ‘लू’का बिरामी बढ्न थालेका छन् । विशेषगरी तराईका ठूला सरकारी अस्पतालमा यतिखेर छाला डढेका, लू, ज्वरो र झाडापखालाका बिरामीको भीड लाग्न थालेको छ ।

हाल ४२ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा यतिखेर छाला डढेका, लू, ज्वरो, झाडापखाला जस्ता स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामी बढेको अस्पतालले जनाएको छ ।

Advertisement:mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

भेरी अस्पतालका सूचना अधिकारी संकेतकुमार रिसालले भने‚ ‘सामान्य अवस्थामा बहिरंग विभागमा हाम्रोमा दैनिक ६ सय जना जति विरामी आउनु हुन्थ्यो तर यतिखेर यहाँ दिउँसो एकदमै तातो हावा सहितको उग्र गर्मी छ जसले गर्दा दम, ज्वरो, झाडापखाला‚ छालाको समस्या लिएर आउने विरामी धेरै हुनुहुन्छ । अत्यधिक गर्मीले अहिले हाम्रोमा दैनिक हजार जनाभन्दा बढी विरामीको भीड लाग्ने गरेको छ । यस्ता विरामीमध्ये धेरै गर्मीकै कारण देखिने स्वास्थ्य समस्याका विरामी हुनुहुन्छ ।’

यस्ता स्वास्थ्य समस्या लिएर अस्पताल आउने विरामीमध्ये केहीलाई सामान्य उपचार गरेर पठाइने गरे पनि केहीलाई भर्ना गरेर उपचार गर्नुपर्ने खालका विरामी हुने गरेको समेत भेरी अस्पतालका सूचना अधिकारी रिसालले बताए ।

यस्तै गर्मीले जनकपुर अस्पतालमा पनि यतिखेर विरामी धेरै रहेको पाइएको छ । धनुषास्थित प्रादेशिक अस्पताल जनकपुरमा पनि यतिखेर गर्मीका कारण लूका विरामी, ज्वरो र छाला सम्बन्धी समस्या लिएर अस्पताल आउने विरामीको चाप बढेको अस्पतालका चिकित्सक डा. कृष्णदेव दासले बताए । ‘बढ्दो अत्यधिक गर्मीका कारण लूका विरामी सहित ज्वरो झाडापखालाका विरामी धेरै आउन थाल्नु भएको छ । यसका साथै सर्पदंशका विरामी पनि अन्य वेलाभन्दा अलि बढी आउन थाल्नु भएको छ’‚ प्रादेशिक अस्पताल जनकपुरका डा. दासले भने ।

तराईमा यतिखेर अत्यधिक गर्मी भएका कारण धेरै मानिस प्रायः घरमै जीवनजल पानी, अन्य घरेलु उपचार गरेर बस्ने गरे पनि धेरै गाह्रो भएपछि अस्पताल आउने गरेका र केही विरामीलाई त लूका कारण बेहोस अवस्थामा अस्पताल ल्याइने गरेको डा. दासले बताए ।

यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि यतिखेर गर्मीका कारण स्वास्थ्य समस्या लिएर अस्पताल आउने विरामीको अत्यधिक भीड रहेको अस्पतालका चिकित्सक डा. खगेन्द्रराज भट्टले बताए। विशेषगरी सर्पदंश, ज्वरो झाडापखालाका विरामी अस्पतालमा यतिखेर धेरै आउने गरेको अस्पतालले जनाएको छ ।

तराईमा मात्रै होइन यतिखेर काठमाडौँ उपत्यकामा पनि गर्मीका कारण देखिने स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने विरामी बढ्न थालेका छन्। विशेषगरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर ज्वरो र झाडापखालाका विरामी धेरै आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यतिखेर झाडापखाला र ज्वरोका विरामी धेरै आउने गरेको बताए । यसैगरी यतिखेर काठमाडौं आसपासबाट सर्पदंशका विरामी पनि अस्पतालमा पुग्ने क्रम बढेको अस्पतालले जनाएको छ ।

अत्यधिक गर्मीले मानव स्वास्थ्यमा पर्ने असर

गर्मी मौसममा बढ्ने अर्को स्वास्थ्य समस्या कीटजन्य रोग (डेंगु, मलेरिया, स्क्रबटाइफस) जस्ता संक्रमण बढ्ने हुँदा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन्‚ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन। जनस्वास्थ्यविद् डा. समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्नसक्ने भन्दै ‘लू’बाट बच्ने उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए ।

‘लू’का कारण श्वास फेर्न गाह्रो हुन्छ। रक्तजन्य समस्या आउन सक्छ। शरीरमा घाउ हुनसक्छ, रक्तचापको समस्या बढ्न सक्छ, आँखाको समस्या हुन सक्छ र कालान्तरमा मानिसको मृत्यु हुनसक्छ’‚ डा अधिकारीले भने‚ ‘धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्छ, मानिसलाई बेचैन बनाउने गर्छ। शरीरमा पानीको मात्रा कम हुन जान्छ र मिर्गौला तथा मुटुमा समेत असर गर्छ ।’

यसैगरी अत्यधिक गर्मीसँगै बहने तातो हावा (लू)ले थकाइ लाग्ने, कमजोरी हुने, बढी तीर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

गर्मीमा यस्ता समस्याबाट बच्न विशेष गरी बढी गर्मीको समयमा शीतल ठाउँमा रहने, घरबाहिर नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीको परामर्श लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस् :