प्रदीप पौडेल बालेन शाह भेट्न महानगर पुगे

pradip-paudel-balen-shah

काठमाडौँ / बिहीवार नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेट भएको छ ।

भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधिसभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आवका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए ।

Advertisement:pradip-paudel-balen-shah

भेटमा चक्रपथ निर्माण अलपत्र भएको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परे नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमै गर्नुपर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो ।

बुधबार प्रतिनिधिसभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौतानुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोबीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ ।

पौडेल र बालेनबीच काठमाडौँ महानगरको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताबारे पनि छलफल भएको थियो । टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए ।

त्यस्तै काठमाडौँ महानगर र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि छलफल भएको छ ।

पौडेलले भने, ‘हामीबीच समस्त काठमाडौँ महानगर तथा महानगरमा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधासम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो’ ।

प्रतिक्रिया दिनुहोस् :