यू-१९ छनोट : कञ्चनपुरलाई हराएर कैलाली फाइनलमा

kailali-cricket-teem

बैतडी / वाईवाई यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा कैलाली फाइनलमा पुगेको छ। कैलाली  लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘बी’को शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

आज सम्पन्न लिग चरणको अन्तिम खेलमा कैलालीले कञ्चनपुरलाई ४ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । जितका लागि पाएको १४५ रनको लक्ष्य कैलालीले ४१.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Advertisement:kailali-cricket-teem

जसमा सुदीप साउदले अर्धशतक हिर्काए। म्यान अफ द म्याच समेत भएका सुदीपले ५७ रन बनाए। कञ्चनपुरका अभिषेक थापाले २ विकेट लिए ।

यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ४२ ओभरमा १४४ रनमा अलआउट भयो। जसमा आर्यन टमटाले ३२ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

कैलालीका ओमप्रकाश घिमिरेले ३ विकेट झारे । हारसँगै कञ्चनपुर प्रतियोगिताबाटै बाहिरिएको छ ।

कैलालीले उपाधि भिडन्त बैतडीसँग खेल्नेछ ।

समूह ‘ए’मा रहेको बैतडी  शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर यसअघि नै फाइनलमा पुगिसकेको  छ ।

फाइनल खेल असार १ गते हुनेछ। फाइनल खेल तथा समापन समारोहमा  नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का आउने कार्यक्रम रहेको छ ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा  क्यान आबद्ध प्रदेशका ८ जिल्ला सहभागी थिए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीका अनुसार  प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस् :