टी-२० विश्वकप : बङ्ग्लादेश र इंग्ल्याण्ड विजयी
काठमाडौं / जारी आईसीसी टी-२० विश्वकपमा बङ्ग्लादेश र इंग्ल्याण्ड विजयी भएका छन्।
बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ । टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । बङ्गलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र जोड्न सक्यो।
नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाएका थिए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए ।
उसका शाकिब अल हसनले सर्वाधिक ६४ रन बनाए। नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले समान २-२ विकेट लिएका थिए ।
जितपछि नेपाल रहेको समूह ‘डी’ को बङ्ग्लादेश ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अङ्क रहेको छ । नेपालको २ खेलमा १ अङ्क रहेको छ । बङ्ग्लादेशको जित पछि श्रीलङ्का एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तै इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको छ । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका जोस बट्लरले नटआउट २४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा ४७ रन मात्र बनाएको थियो। समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो। इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ ।
प्रतियोगिता अन्तरगत अहिले पपुवा न्युगिनी र अफगानिस्तानबीचको खेल जारी छ । आजै अमेरिका र आयरल्याण्ड भिड्नेछन् ।