युवा पलायनसँगै ठुलो धनराशि बाहिरिँदै, सम्पत्ति बेचेर धमाधम विदेशमा स्थायी बसोबास

international-airport-nepal

काठमाडौं, १ असार / नेपालबाट बाहिरेने शिक्षित जनशक्तिसँगै ठुलो मात्रामा धनराशि समेत बाहिरिन शुरु भएको छ । विदेशमा रहेका नेपालीहरुले त्यहिँको स्थायी बसोबासको अनुमतिको प्राप्तिसँगै आफ्नो नाममा नेपालमा रहेको सम्पत्ति धमाधम विदेश लैजानेक्रम बढेको हो ।

अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति पाएका सुजील कर्माचार्यले पोखराको आफ्नो नाममा रहेको घर र जग्गा ३ करोडमा बिक्री गरी अष्ट्रेलियामा नेपाली मूल्यअनुसार ६ करोडमा घर किनेर सपरिवार नै उतै बसोबास गर्न शुरु गर्नुलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । वैदेशिक शिक्षा आर्जनका नाममा विदेश जानेहरुले समेत धमाधम त्यहिको स्थायी बसोबासको अनुमति पाउने र स्थायी बसोबास उतै भएपछि नेपालमा रहेको आफ्नो अचल सम्पति बेचविखन गरी नगद लिएर परिवारसहित नेपाल छोड्ने क्रम बढ्दै गएकोमा राष्ट्रभक्तहरुमा ठुलो चिन्ता देखा पर्न थालेको छ ।

Advertisement:international-airport-nepal

नेपालमा तेश्रो जनआन्दोलनपछि विदेशिने नेपालीहरुको संख्या तालिकालाई हेर्ने हो भने यस बीचमा अत्यधिक युवाहरु वैदेशिक रोजगार र वैदेशिक शिक्षा आर्जनका नाममा धमाधम विदेशिने र विभिन्न बहानामा देश त्याग्ने क्रम बढेर गएको तथ्याङ्क हाम्रा आँखाअगाडि रहेको छ । सहरी क्षेत्रमा बसोबास गख गर्दै आएका परिवारका सदस्यहरु कम्तिमा एक जना विदेशमा स्थायी बसोबास गर्दै आएको र उनीहरुको पहलबाट अन्य सदस्यहरु समेत उतै लैजाने प्रकृया अगाडि बढाइदै आएको समेत सार्वजनिक जानकारीको विषय मानिएको छ ।

ब्रिटिश आर्मीका रुपमा भर्ति भई बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुले समेत देशको अवस्था चिन्ताजनक देखिएको भन्दै आफ्नो सम्पत्ति उतै लैजानेक्रम पनि बढेर गएको छ । आफ्ना छोराछोरीको भविष्य नेपालमा सुनिश्चित हुन नसक्ने र देशले कुनै बेला ठुलै कुटनीतिक दुर्घटना ब्यहोर्नुपर्ने हो ? भन्ने चिन्ताले आफुहरुले नेपालमा रहेको परिवार तथा सम्पत्ति विदेश लैजाने निर्णयमा पुग्न थालेको विवरणहरु सामाजिक सञ्जालहरुमार्फत ब्यक्त गर्न थालिएको छ ।

त्यसैगरी डाईभर्सिटी भिसा होस् वा अन्य भिषामा अमेरिका, क्यानडा तथा विभिन्न युरोपियन मुलुकहरुमा PR र TR का रुपमा देश छोड्ने प्रकृयामा रहेका युवाहरुको पङ्क्तिलाई हेर्न देशमा सञ्चालित ट्राभल एजेन्सी र भिसा कन्सल्टेन्सी कम्पनीहरुलाई हेर्न सकिने विश्लेषकहरुले बताउन थालेका छन् । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने विदेशिदै गरेका नेपाली यात्रुहरुको घुँइचो र विद्यालयस्तरमा अध्ययन गर्दै गरेको विद्यार्थीहरुको मनोविज्ञानलाई हेर्ने हो भने पनि नेपालबाट शिक्षित र दक्ष युवाशक्ति पलायन उत्कर्शमा पुगेको सर्वत्र आँकलन गर्न थालिएको छ ।

नेपालबाट जनशक्ति बाहिरिने वातावरण नेपालको अस्थिर राजनीति, अलोकप्रिय सरकारी नीति निर्णय, साँघुरिदै गएको देशको रोजगार बजार, व्यपार व्यवसायमा देखिएको बढ्दो राजनीतीकरण, राजनीति भर्ति केन्द्रहरुमा रहेको अदक्ष जनशक्तिले प्राप्त गर्दै आएको सबै प्रकारका अवसरहरु, संवैधानिक निकायहरुमा हुने घृणा लाग्दो राजनीतिक नियुक्त र भागवण्डाहरु, राजनीतिलाई व्यवसाय बनाउनेहरुको बढ्दो सङ्ख्या र पदका लागि हुने अस्वस्थ प्रतिस्पर्धा जस्ता कारणहरुले नेपालमा दक्ष र योग्य जनशक्ति हतोत्साहका साथ पलायन हुने क्रम बढेर गएको विज्ञहरुले बताईरहेका छन् ।

-बिशाल न्यौपाने

प्रतिक्रिया दिनुहोस् :