७२ जिल्लामा फैलियो डेंगु, देशभर १ हजार १७७ जना बिरामी

Dengue

काठमाडौँ / गर्मी बढेसँगै देशभर डेंगुका बिरामी बढ्न थालेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस वर्ष हालसम्म ७२ जिल्लामा डेंगुका बिरामी देखिइसकेका छन् । हालसम्म ७२ जिल्लामा १ हजार १७७ जना डेंगुका बिरामी भेटिएका छन् ।

यो अवधिमा डेंगु सबैभन्दा धेरै काठमाडौँ जिल्लामा फैलिएको छ । ईडीसीडीको विवरणअनुसार हालसम्म काठमाडौँमा १२२ जना विरामी फेला परेका छन् भने अघिल्लो साता ११४ जना बिरामी थिए ।

Advertisement:Dengue

झापामा १११ जना, चितवनमा ७४ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन् । भक्तपुरमा २७ ललितपुरमा १८ जना संक्रमित रहेका छन् । सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुङगामा ४१ जना संक्रमित रहेका छन् ।

​डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्छन् ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस् :