प्लास्टिकमा बेरेको अवस्थामा पुरुषको शव फेला, हत्या आरोपमा महिला पक्राउ

बैतडी / प्लास्टिकमा बेरेको अवस्थामा बैतडीको पाटन नगरपालिका-६ मा शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता रहेका ४५ वीरभानसिंह विष्टको शव सोमबार दिउँसो पाटन पञ्चेश्वर सडकखण्ड अन्तर्गत पर्ने घाङल खोलामा प्लास्टिकमा  बेरेर फालेको अवस्थामा फेला परेको हो ।

विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले  इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीया महिला भागरथी बिष्टको नाममा उजुरी  दिएका थिए।

Advertisement:

त्यसपछि लगत्तै भागरथीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भूपाल थापाले जानकारी दिए।

वीरभानको मोबाइल समेत प्रहरी नियन्त्रणमा रहेकी महिलाको साथबाट फेला परेको थियो ।

वीरभान असार १ गतेदेखि बेपत्ता रहेका थिए । पक्राउ परेकी महिलाका श्रीमान्‌को केही वर्षअघि  मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :