पशुपतिनाथको भेटी चोरी प्रकरणमा आज थुनछेक बहस

काठमाडौं / पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । मंगलबार सरकारी पक्षको बहस सकिएको र आज प्रतिवादीका पक्षबाट बहस हुने अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए ।

भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न छन् । बहस सकिए अदालतले आज उनीहरूलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ ।

Advertisement:

जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जना विरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जिल्ला न्यायाधीवक्ता सन्तोष कटवालले जानकारी दिए । भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।

विगत ६ महिनादेखि संकलित भेटी चोरी गरेको प्रतिवादीले स्वीकार गरिसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस् :