योगलाई कुनै धर्म र जातमा मात्रै सीमित गर्नु हुँदैन : अध्यक्ष ओली

kp-sharma-oli

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा मात्रै सीमित गर्नु नहुने जनाएका छन्।

शुक्रबार १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। योग नेपाल भूमिबाट नै शुरु भएको उल्लेख गर्दै उनले योग कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताए।

Advertisement:kp-sharma-oli

उनले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए। उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए।

‘योग यसै भूमिबाट शुरु भएको थियो। हजारौं वर्षअघि । मैले आफ्ना अघिल्ला मन्तव्यमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ । आदि योगी शिवबाट योग शुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भुगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन। यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले शुरु भएको थियो । बीचमा अलि ओझेल पर्दै गयो।’ उनले भने, ‘अहिले योग भ्रान्तिहरुबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी छ । मानव समाजव्यापी हुन जरुरी छ।’​

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए। योग भनेको अनुशासित र पवित्र जीवन रहेको उनको भनाइ छ । उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस् :