दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प छैन : कृषिमन्त्री

Jwala-sah-krishi-mantri

काठमाडौँ / कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन्।

शुक्रवार नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन्। उनले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गरिन्। उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्ने गरी छलफल अघि बढेको जानकारी दिइन्।

Advertisement:Jwala-sah-krishi-mantri

उनले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रूपमा सञ्चालन गर्नेभन्दा पनि नयाँ ढङ्गले दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी लान आवश्यक रहेको बताइन्। उनले संस्थानले किसान र दुग्ध व्यवसायीमाथि खेलवाड गर्न नमिल्ने बताइन्। उनले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रूपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको स्पष्ट पारिन्।

उनले संस्थानलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने गरी अबको एक महिनामा उथलपुथल गरिने बताइन्। उनले दुग्ध विकास संस्थानमा बिचौलिया हावी भएको भन्दै संस्था बिचौलियाले चलाइरहेको दाबी गरिन्। संस्थानमा ९ सय कर्मचारीमध्ये ३ सय अस्थायी र ६ सय कर्मचारी स्थायी रहेको बताइन्। उनले स्थायी कर्मचारीलाई जागिर कसैले खोस्न नसक्ने घमण्ड बढेर आएको बताइन्।

उनले भनिन्, ‘दुग्ध विकास संस्थानमा बिचौलिया हाबी भएको छ। संस्थान पिउनले चलाएको छ। संस्थानमा ९ सय कर्मचारी छन्। जसमा ३ सय कर्मचारीहरू अस्थायी र ६ सय कर्मचारी स्थायी छन्। स्थायी कर्मचारीहरू जागिरबाट निकाल्न नसक्ने भन्नेछ। घमण्ड बढेर आएको छ। दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीको टिमले थेगेर ल्याएको छ। करारका कर्मचारी हटाउन सक्ने अवस्था छैन।’

उनले कर्मचारीले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने बताइन्। उनले आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस् :