विदेशमा बस्ने सबै नेपालीले भोट हाल्न पाउने, मतदाता नामावली दर्ता प्रक्रिया सुरु

काठमाडौं /  विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रारम्भ भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन्।

उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए। उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताए। उनले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताए।

Advertisement:

उनले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताए। उनले नेपालको माया र सेवा सुविधा बसेको देशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको बताए।

उनले बाह्य मतदान? स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने बताए। उनले निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निष्कर्षमा रहेको पनि बताए।

उनले भने, ‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तीमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौँ भन्यौँ। राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेका छौँ। कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ। त्यति बेला हामीले कहाँ जानेभन्दा हामीले के निधो गर्‍यौँ भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौँ न त मतदाता दर्ता चाहीँ प्रारम्भ गरौँ भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौँ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताए। उनले निर्वाचनको मूलमन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :