असार १५ : आज राष्ट्रिय धान दिवस, ९.८ प्रतिशत मात्रै राेपाइँ

काठमाडौं / असार १५ अर्थात्, राष्ट्रिय धान दिवस। सरकारले धुमधामसँग धान दिवस मनाउने तयारी गरिरहँदा अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ।

कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ।

Advertisement:

यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान विभागले गरेको छ। त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा मात्र रोपाइँ भएको छ।

सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ।

धान दिवसको मुख्य कार्यक्रम चितवनको बछौलीमा हुने कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले जानकारी  दिए।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनमा धान दिवस मनाउन लागिएको हो। चितवनमा डेढ बिघामा धान रोपाइँ गरेर यो दिवस मनाउन लागेको कृषिमन्त्री साहले जानकारी दिइन्।

यसअघि प्रत्येक वर्ष काठमाडौंमै धान दिवस मनाउने गरिएको थियो। कृषिमन्त्री साहको पहलमा यो पटक धान दिवस उपत्यकाबाहिर मनाउन लागिएको हो।

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो।चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो। गत वर्षभन्दा आठ हजार ८०० हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएपनि धान उत्पादन वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :