चन्द्रागिरि नगरपालिकाले बालबालिकाको खातामा पाँच हजार जम्मा गरिदिने

chandragiri-municipality-nic-asia-bank

काठमाडौं / चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ। नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले आगामी आर्थिक वर्षदेखि यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो।

स्थायी बसोबास गरेका नगरवासीका सन्ततिका नाममा मुद्दती खाता खोली रकम जम्मा गरिदिने नीति नगरपालिकाले जनाएको छ। यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ।

Advertisement:chandragiri-municipality-nic-asia-bank

बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ।

चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक लिमिटेडका बीच मुद्दति खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको हो। आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गराउने नगरपालिकाले जनाएको छ। नगरप्रमुख गिरीले नगरपालिकालले प्रदान गरेको रकममा थप गरी सन्तानको भविष्य उज्ज्वल बनाउन आग्रह गरे।

‘नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकलाई पनि आफ्नो सन्तानको खातामा रकम थप गरी भविष्य सुनिश्चित गर्न म आग्रह गर्छु’, उनले भने, ‘बालबालिका १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न रकमले केही  सहजता प्रदान गर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस् :