भ्रामक प्रचार गरेको आरोपमा क्यानका उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोधिने

काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)को बैठकले क्यानका उपाध्यक्ष रोशनकुमार सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

क्यान केन्द्रीय कार्यसमितिको बिहीवार र शुक्रवार बसेको बैठकले उपाध्यक्ष सिंहसहित दुईजना केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य तथा दुर्गाराज पाठकका साथै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

Advertisement:

नेपाली टोली विश्वकप क्रिकेटमा सहभागी हुनेक्रममा सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यममा आधारहीन र अनर्गल अन्तरवार्ता दिएको आरोप क्यानले लगाउँदै स्पष्टीकरण सोध्ने भएको हो।

क्यान र क्यानका पदाधिकारीलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा क्यान पदाधिकारी, सदस्य, क्यानमा आबद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीले क्यानको निर्णयविपरीत हुँदै नभएका आधारहीन कुराहरुको अन्तरवार्ता एवं भ्रामक प्रचार गरेको र सामाजिक सञ्जालमा समेत राखेको पाइएकोले त्यस्ता गलत काममा संलग्न व्यक्तिलाई क्यानको विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :