पशुपतिनाथ क्षेत्रमा श्री हिमवत्खण्ड नेपाल माहात्म्य–२०८१ आयोजना गरिने

काठमाडौं, २४ असार / आगामी श्रावण १ गतेदेखि पशुपतिनाथ क्षेत्रमा ‘श्रीहिमवत्खण्ड माहात्म्य–२०८१’ को आयोजना गरिने भएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले वैदिक मान्यताअनुसार पवित्र महिना मानिने श्रावण महिनाभरि माहात्म्य सञ्चालन गर्न लागेको हो ।

नेपालका धार्मिक, पुरातात्विक सम्पदाको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नेलगायत विभिन्न ८ वटा उद्देश्यका साथ श्री हिमवत्खण्ड नेपाल माहात्म्य २०८१ को आयोजना गर्न लागिएको प्रतिष्ठानका संस्थापक राजानन्द माण्डव्यले जानकारी दिएका छन् । ऐतिहासिक तथा पौराणिक महत्व बोकेको हिमवत्खण्ड अन्तर्गत वर्णन गरिएको धार्मिक तथा तपोभूमि नेपालको महिमा, गरिमा, श्रीवृद्धि र राष्ट्रोत्थानका लागि पावन पशुपति क्षेत्रमा ऐतिहासिक माहात्म्य आयोजना गर्न लागिएको उनको भनाइ छ ।

Advertisement:

वैदिक सनातनी, गौभक्त, धर्मभक्त, राष्ट्रभक्त, सम्पूर्ण श्रद्धालु, तिर्थालुहरुमा श्री पशुपतिनाथ क्षेत्रमा आगमनका लागि अनुरोध गर्दै संस्थापक राजानन्द माण्डव्यले भनेका छन् ‘यो माहात्य सफल भएपछि हामीले गौसंरक्षणका लागि देशका सातै प्रदेशमा गौशाला निर्माण गर्नेछौं । हामीले वर्दियामा गौशाला सञ्चालनमा ल्याइसेका सबैलाई थाहै छ ।’

माहात्म्य आयोजनाका थप उद्देश्यका विषयमा बताउदै उनले भने, ‘हामीले मिसन बरपिपल अभियान अन्तर्गत कार्यक्रम आयोजनास्थल वरिपरी र विश्वका उपयुक्त स्थलहरुको छनौट गरी ती स्थानहरुमा १ लाख ८ हजार जोडी बरपिपलको वृक्ष रोपण गर्न गइरहेका छौं । वरपिपलसँगै समि, आँप, चाँप (पञ्चपल्लव) रोप्ने कार्यक्रम पनि रहेको छ । यस कार्यक्रमको उद्घाट श्रावण १ गतेबाट वरपिपल रोपेर शुभारम्भ गरिनेछ ।’

‘श्री हिमवत्खण्ड नेपाल माहात्म्य–२०८१’ को उद्देश्यहरु वैदिक, वैज्ञानिक, शास्त्रयुक्त गुरुकुल निर्माण, योग, प्राणायाम, ध्यान, साधना, प्राकृतिक चिकित्सा, आयुर्वेद, पञ्चकर्म क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने, राष्ट्रिय विभूति उद्यान निर्माण तथा राष्ट्रिय तथा मौलिक पोशाकको सङ्ग्रहालय निर्माण, कालीगण्डकी बचाऔं अभियानलाई सहयोग पुर्याउने रहेको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिएका छन् । माहत्य सकिनासाथ भाद्र महिनाबाट वैदिक सनातन राष्ट्र निर्माणमा राष्ट्रब्यापी जागरण अभियान सुरुवात गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस् :