माओवादी केन्द्रले सबै दलसँग विश्वासको मत माग्ने

maowadi_samsadiye_dal

काठमाडौं / नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतका लागि सबै दल र स्वतन्त्र सांसदसँग अपिल गर्ने भएको छ।

बुधबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पक्षमा मत माग्ने निर्णय गरेको हो।

Advertisement:maowadi_samsadiye_dal

नेपाली कांग्रेससँग नयाँ सत्तासमीकरणको समझदारीसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसकारण प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका हुन्।

स्पष्ट अल्पमतमा परेपछि नयाँ समीकरणमा जोडिएका एमाले र कांग्रेसले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर प्रधानमन्त्री प्रचण्ड भने संसदमा विश्वासको मत लिएरै छाड्ने अडानमा छन्।

‘संविधानको कार्यान्वयन, रक्षाका लागि र नेपाली जनताको हित चाहने सबै राजनीतिक दल र स्वतन्त्र सांसदहरुसँग विश्वासको मत  दिन अपिल गर्ने निर्णय भएको छ।’ बैठकपछि संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने।

उनका अनुसार प्रचण्डले बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय पनि गरेको पाण्डेले बताए।

 

प्रतिक्रिया दिनुहोस् :