विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्यो, मुद्रास्फीति ४.१७ प्रतिशत

काठमाडौँ / चालू आव ०८०/८१ को जेठ मसान्तसम्म आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति दर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालूखाता बचतमा छन्।

Advertisement:

अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ। विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति गत जेठमा ४ दशमलव १७ प्रतिशत रहेको थियो।

खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ७६ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको छ। वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५ दशमलव ४८ प्रतिशत छ।

गत जेठ मसान्तसम्म समीक्षा अवधिमा चालू खाता २ खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ।

यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ। यो अवधिसम्म शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ।

वि.सं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालू आवको ११ महिनामा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

आव ०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव १ महिनाको वस्तु आयात र १२ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

चालू आवको जेठ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ।

यो अवधिमा आयात १ दशमलव ८, निर्यात ३ र कुल वस्तु व्यापार घाटा १ दशमलव ७ प्रतिशतले घटेको छ।

जेठ मसान्तसम्म विस्तृत मुद्राप्रदाय ९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव १ प्रतिशतले बढेको छ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव ६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५ दशमलव ६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् :